FAQs Complain Problems

चुमनुव्री गाउँपालिकाकाे स‍ंक्षिप्त परिचय

गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लाको उत्तरी भेगमा अवस्थित चुमनुव्री गाउँपालिका साविकका ७ वटा गाउँ विकास समितिहरू (समागाउँ, ल्हो, प्रोक, विही, छेकम्पार, चुम्चेत र सिर्दिबास) मिलाएर निर्माण भएको हो । गोरखा जिल्लाको मुख्य नदी बुढीगण्डकीको पश्चिमी भागमा तथा जिल्लाको उत्तर पूर्व अवस्थित सिर्दिबासको फिलिम यस गाउँपालिकाको केन्द्र रहेको छ ।कुल क्षेत्रफल १६४८.५ वर्ग कि.मि. रहेको यो गाउँपालिका समुद्री सतहबाट १२३९ मिटरदेखि ८१६३ मिटरसम्म फैलिएको छ । नेपालका उच्च हिमशृंखलामध्येको आठौं उच्च शिखर मनास्लु हिमाल (उचाइ ८१६३ मिटर) यसै गाउँपालिकामा अवस्थित छ । हिमचुली (७८९३ मिटर) र सृङ्गी (७१८७ मिटर) जस्ता उच्च हिमाल लगायत अन्य हिमशृङ्खला यसै गापामा पर्दछन् । यस गाउँपालिकाको समग्र भाग मनास्लु संरक्षण क्षेत्रमा पर्दछ । यो गाउँपालिका लार्के (५२०५ मिटर) र ग्या (५३७५ मिटर) जस्ता उच्च पास (ला) हरुका साथै काल ताल र वीरेन्द्र तालहरु जस्ता विभिन्न ताल तलैयाहरु रहेका छन् । विशिष्ट साँस्कृतिक, ऐतिहासिक गुम्बाहरु र असंख्य जडिबुटी, जैविक विविधताले यो गाउँपालिका भरिपूर्ण रहेको छ । बुढीगण्डकी जलाधार, चुमनुव्री लार्के पास हुँदै मनाङ, मुस्ताङ जाने मुख्य पदमार्ग, मनोरम हिमशृङ्खला र अलौकिक संस्कृतिसहितको विशिष्ट भूपरिवेशले गर्दा यस गाउँपालिकाले पर्यटक आकर्षणको ठूलो सम्भावना बोकेको छ । यस गाउँपालिकाबाट २०७६ सालमा संकलित तथ्याङ्क अनुसार यहाँ जम्मा २००४ घरपरिवार रहेका छन् । २०६८ को जनगणना अनुसार यो संख्या १९४९ थियो । चुमनुव्री गाउँपालिकाको कुल जनसंख्या ९२८९ रहेको छ । वडागत रुपमा हेर्दा वडा नं ३ मा सबैभन्दा बढी २९७७ र वडा नं ५ मा  सबैभन्दा कम ७२० जनाको बसोबास रहेको छ । कुल जनसंख्यामध्ये ४६६९ जना (५०.२७%) पुरुष र ४६२० जना (४९.७३%) महिला रहेका छन् । हालको जनसंख्या अनुसार लैङ्गिक अनुपात (पुरुष÷महिला अनुपात) १००.१ रहेको देखिन्छ । कुल जनसंख्याको ५९ प्रतिशत जनता आर्थिक रुपले सक्रिय (१५ देखि ५९ वर्ष) उमेर समूहभित्र पर्दछन् । एक वर्षमुनिका बालबालिका २ प्रतिशत, १ देखि ५ वर्षभित्रका ८ प्रतिशत, ५ देखि १५ वर्षसम्मका २२ प्रतिशत रहेका छन् । आर्थिक रुपले सक्रिय जनसंख्यामध्ये १६ देखि ३० उमेर समूह सबैभन्दा (२९.८ प्रतिशत) बढी रहेको छ ।